लेक उक्लिए गोठाला

काठमाडौं–बर्खामा लेक र हिउँदमा बेसी सर्ने पश्चिम बागलुङका गोठालाको परम्परानै भइसक्यो । निसीखोला, तमानखोला र ढोरपाटनका धेरैजसो स्थानीयको मुख्य पेसा पशुपालन भएकाले चरिचरनका लागि लेकबेँसी गर्ने गर्छन् ।
यस वर्ष पनि बर्खा लागेसँगै गोठालाहरू वस्तुभाउ लिएर लेक उक्लिन थालेका छन् । असार पहिलो सातादेखि नै लेक उक्लिन सुरु गरेका गोठलाहरू कोही गोठमै पुगिसके भने कोही बीच बाटोमै छन् । असार अन्तिम सातासम्म सबै गोठला लेकमा पुगि सक्छन् ।
एकै परिवारले सयौँको संख्यामा पशुपाल्ने हुँदा हिउँद बर्खा लेकबेँसी गर्नुपरेको हो । यतिबेला लेकमा उक्लिएका गोठलाहरू अब ५ असोजपछि मात्रै बेँसी झर्छन् । बर्खाभरी लेकमा बस्ने गोठलाहरूले चार महिनालाई पुग्ने खाद्यान्न र लत्ताकपडा बोकेर जाने गर्छन् ।
लेकमा बस्ने अधिकांश किसानको भेडीगोठ हुन्छ । केहीले गाई र भैँसी पनि लिएर गएका हुन्छन् । बर्खाभरी लेकमा बस्दा पशुको रेखदेखसँगै चोयाबाट बन्ने डोको, नाङ्लो, डाली, मान्द्रो र काठबाट बन्ने सामग्री बनाउने गर्छन् । जसले उनीहरूको आयआर्जनमा टेवा पुर्याएको हुन्छ ।
गोठालाहरू समुन्द्री सतहदेखि चार हजार ८०० मिटरको उचाइसम्म पुगेर गोठ बनाएर बस्ने गर्छन् । ढोरपाटन–९ का तिलबहादुर मगरले यसपाली ढिलो गरी लेक उक्लिए । उनी गत वर्ष ३ असारमा नै गर्पाछेडा पुगेका थिए । मगरले भने, 'मेरा साथीहरू त एक साता पहिलेनै लेकमा पुगिसके, यसपाली घरमा काम गर्ने मान्छे थिएनन् । बारी बाँझो राख्न भएन, कोदो लगाएर जाउँ भन्दा ढिलो भयो, ढिलै भए पनि जसोतसो आइयो, मेरा १२-१५ वटा गाई र गोरु छन् ।'
६७ वर्षीय मगरले आफू नौ वर्षको उमेरदेखि भेडीगोठसँग लेकबेँसी गर्न थालेको बताए । गाउँमा वस्तुभाउ पाल्ने सबै किसानहरू लेक उक्लिसकेको उनको भनाइ छ । बर्खाको समय गाउँ सुनसान हुने भन्दै दसैँ सुरु हुन थालेपछि मात्रै मान्छेहरूको चहलपहल हुने मगरले बताए । पहिलेको तुलनामा अहिले पशुपालन गर्नेहरूको संख्या कम हुँदै गएको उनी बताउँछन् ।
आफूले लामो समयदेखि पशुपालन गर्दै आएको कतैबाट अनुदान नपाएको मगरले गुनासो पोखे । खासगरी किसानहरू रिग, सोलेडाँडा, गर्पाछेडा, टिकाधार, पोखरा, दहखर्क, खानीखोलालगायतका लेकमा पुग्ने गर्छन् । यी क्षेत्रमा पश्चिम बागलुङका मात्रै नभएर रोल्पा, रुकुम, डोल्पाबाट पनि सयौँको संख्यामा गोठालाहरू भेडा लिएर आउने गरेको निसीखोला गाउँपालिका–६ का पृथराम घर्ती मगरले बताए ।
लेकमा धेरै ठाउँबाट गोठालाहरू आउँदा रमाइलो हुने भन्दै समस्या पर्दा एकले अर्कालाई सहयोग गर्ने उनको भनाइ छ । लेकमा पर्याप्त घाँस हुने हुँदा धेरै जसो गोठालाहरू बर्खाको समय बसीमा नबस्ने घर्ती मगरले सुनाए । उनका ५ सयभन्दा बढी भेडाहरू छन् ।
'बाउबाजेले भेडाबाख्रा नपालेको भए सायद अहिले हामीहरू यो पेसामा हुने थिएनौँ, ऊ बेला पढाइ गर्ने चलन थिएन, म अहिले ७९ वर्षमा लागे, जन्मेदेखि नै बाउआमाले मलाई गोठमा हिँडाउनु भएको रैछ, त्यही भएर होला यो पेसा छोड्नै मन लाग्दैन' घर्ती मगरले भने, 'बुढेसकाल लाग्यो, अब त केही वर्षपछि लेक उक्लिन सकिँदैन होला । बर्खामा बेँसीमा वस्तुभाउ राख्न पाइँदैन, त्यहाँ बारीभरी खेती गरिएको हुन्छ, त्यही भएर अब दसैँ मान्न मात्रै तल झर्ने हो ।'
लेकबेसी गरेरै आफ्नो छ दशक बितेको तमानखोलाका गोरबहादुर रसाइलीले बताए । दुई महिनाका लागि चाहिने अन्नपात लिएर लेक उक्लिन थालेको उनको भनाइ छ । बिरामी नपरे र कुनै समस्या नभए भदौमा मात्रै खर्च लिन घर झर्ने रसाइलीले बताए । गाउँबाट लेक पुग्न झण्डै दुई दिन लाग्ने हुँदा लामो समयका लागि एकै पटक खर्च लिएर जाने गरेको उनी बताउँछन् ।
'अब आउने दसैँमा २०/३० वटा जति भेडा बिक्री गर्नु छ, त्यसले गर्दा पोहोर सालभन्दा केही दिन अगाडि बेँसी झर्ने योजना बनाएको छ, अरु केही गर्न सकिएन यस सम्पत्ति पालेरै जीविको चलाएका छौँ, आठ-दश भेडा वर्षैपिच्छे बिक्री हुन्छन्, त्यहीबाटै नुन तेल खाने पैसा आउँछ, बेसीमा मात्रै बसेर वस्तुभाउ पाल्न सकिँदैन,' रसाइलीले भने । रासस
प्रतिक्रिया