राप्रपा अध्यक्ष लिङ्देन र क्याप्टेन बोहराबीच विशेष भेट: “दीपक बोहराको अधुरो यात्रा गौरव बोहराले पूरा गर्न सक्छन्”

राप्रपा अध्यक्ष लिङ्देन र क्याप्टेन बोहराबीच विशेष भेट: “दीपक बोहराको अधुरो यात्रा गौरव बोहराले पूरा गर्न सक्छन्”

काठमाडौं — राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका युवा नेता क्याप्टेन गौरव बोहराबीच आज पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा विशेष भेटवार्ता सम्पन्न भएको छ। आसन्न उपनिर्वाचन, संगठनात्मक सुदृढीकरण र भावी रणनीतिसम्बन्धी विषयमा गहन छलफल भएको सो भेटले पार्टी नेतृत्व र युवा पुस्ताबीचको राजनीतिक सन्तुलनलाई थप स्पष्ट बनाएको छ।

अध्यक्ष लिङ्देनले दिवंगत नेता दीपक बोहराको राजनीतिक योगदानलाई स्मरण गर्दै गौरव बोहरामा देखिएको नेतृत्व क्षमता र समर्पणप्रति विश्वास व्यक्त गर्दै भन्नुभयो, “स्व. दीपक बोहराले रुपन्देहीमा बनाएको जनसम्बन्ध र राजनीतिक विरासत गौरवले आत्मसात् गर्न सक्छन्। उहाँमा त्यो सामर्थ्य, प्रतिबद्धता र दूरदृष्टि देखिन्छ।”

भेटका क्रममा अध्यक्ष लिङ्देनले आसन्न उपनिर्वाचनलाई केवल राजनीतिक प्रतिस्पर्धाको रूपमा नभई विचार, स्थायित्व र राष्ट्रिय आस्थाको लडाइँका रूपमा बुझ्नुपर्ने धारणा राख्नुभयो। उहाँले स्पष्ट शब्दमा भन्नुभयो, “यो निर्वाचन जित्ने गरि पार्टीको संगठन, सञ्जाल र जनसम्पर्कमा तत्कालै ध्यान केन्द्रित गर्न आवश्यक छ। नेतृत्वले आवश्यक साथ र सहकार्य सुनिश्चित गर्नेछ।”

क्याप्टेन गौरव बोहराले पनि पिताको अधुरो राजनीतिक यात्रालाई निरन्तरता दिने दृढ अठोट व्यक्त गर्दै भन्नुभयो, “यो लडाइँ व्यक्तिको होइन, विचारको हो। यो म केवल एक उम्मेदवारका रूपमा होइन, पिताले देखेको सपना र जनताको आशा बोकेको प्रतिनिधिका रूपमा लड्न तयार छु।”

यो भेटले राप्रपाभित्र नेतृत्व हस्तान्तरणको एक सशक्त संकेत दिएको छ। पार्टीको मूल विचार, राष्ट्रवादप्रतिको प्रतिबद्धता र जनअपेक्षाको सम्मानलाई ध्यानमा राख्दै अध्यक्ष लिङ्देन र क्याप्टेन बोहराबीच भएको संवादले रुपन्देही–३ को राजनीतिक मैदानमा राप्रपालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

भेटपछिको उत्साह र दृढताले युवा नेताहरूको भूमिकालाई मात्र होइन, भावी निर्वाचनको दिशा र गति निर्धारण गर्ने गम्भीर संकेत पनि दिएको छ।