माइक्रोसफ्टको अफिस नजिकै खस्यो इरानी मिसाइल

माइक्रोसफ्टको अफिस नजिकै खस्यो इरानी मिसाइल

काठमाडौं - इरानले इजरायलको बिर्शेबा शहरमा शुक्रबार बिहानै ब्यालिस्टिक मिसाइलले हमला गरेको छ । इरानले प्रहार गरेको मिसाइल माइक्रोसफ्टको कार्यालय नजिकै खसेको टाइम्स अफ इजरायलले जनाएको छ ।

मिसाइल खसेको स्थानमा केही घर क्षतिग्रस्त बनेका छन् भने केही कारमा आगो लागेको छ । इरानको मिसाइल हमलामा ६ जना घाइते भएको पनि बताइएको छ । 

इरानले बिर्शेबा शहरमा मिसाइल हमला गरेको लगातार दोस्रो दिन हो । यसअघि बिहीबार पनि इरानले यो शहरमा मिसाइल प्रहार गरेको थियो । इरानको मिसाइल एउटा अस्पतालमा खस्दा ५० जनाभन्दा बढी घाइते भएका थिए । 

बिहीबार इजरायलले इरानको खोंडबसहितका स्थानमा रहेका परमाणु ऊर्जा संयन्त्रमा हमला गरेपछि इरानले जवाफी हमला गरेको हो । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईएईए) ले इजरायली हमलामा खोंडब हेवी वाटर रिसर्च सेन्टरका केही भवनमा ठूलो क्षति पुगेको जनाएको छ ।