दैलेखमा ११२ अर्ब घनमिटर ग्यास रहेको पुष्टि

सुर्खेत - चीनको टोलीले दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक रिपोर्ट दिएको छ ।
लामो समयको अध्ययनले ग्याँस रहेको पुष्टि गरेको हाे । दैलेखमा ठुला आयोजना सञ्चालनमा छैनन् । प्रदेशको राजधानीसँज जोडिएको जिल्ला भए पनि अवसरबाट भने वञ्चित हुँदै आएको छ ।
अब भने दैलेखको विकासले फट्को मार्ने व्यावसायी प्रेम ओली बताउनुहुन्छ । लामो समयसम्म चर्चामा रहेको विषय अध्ययनले पुष्टि गरेसँगै थप आशा पलाएको उहाँको भनाइ छ । दैलेखमा ग्यास पुष्टि भएको विषयले सामाजिक सञ्जाल रङ्गिएको छ । दैलेखमा विकासको मूल फुट्ने र आर्थिक अवस्थामा समेत सुधार आउने युवा नेता नवीन योगीले बताउनुभयो । उहाँका अनुसार सरकारले अब थप प्रक्रिया अघि बढाएर काम सुरु गर्नुपर्छ ।
उद्योगमन्त्री दामोदर भण्डारीले ग्यास पुष्टि भएको र विस्तृत रिपोर्टपछि उत्पादन सुरु हुने बताउनुभएको छ । दैलेखमा ग्यासको उत्खनन २०८० वैशाखबाट सुरू भएको थियो । दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता लागेको छ ।
चिनियाँ विज्ञ टोलीले नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्यास रहेको भनेर प्रारम्भिक रिपोर्ट दिएको भन्दै सरकारी अधिकारी उत्साहित देखिएका छन् । चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले २०८० वैशाख २८ गतेदेखि ड्रिलिङ अर्थात् जमिन खनेर अध्ययन थालेका थिए । त्यसका लागि चार हजार मिटर गहिराइसम्म खनिएको थियो । त्यतिबेला जमिनमुनिबाट ग्यासको गन्ध आएको थियो ।
तर ग्यासको मात्रा र गुणस्तर लगायतका थप परीक्षणका लागि चट्टानका नमुना सङ्कलन गरी चीन लगिएको थियो । त्यसको उद्देश्य दैलेखको ग्यास व्यापारिक दृष्टिकोणले उपयुक्त छ कि छैन भन्ने पनि पत्ता लगाउनु थियो ।
दैलेखका विभिन्न स्थानमा आगोको ज्वाला बल्ने गरेको छ । दुल्लू नगरपालिका र भैरवी गाउँपालिकाका स्थानीयले दैवी शक्ति भन्दै पूजा गर्दै आएका छन् । तर विज्ञहरुले जमिनमुनि प्रज्ज्वलनशील ग्यास भएको र त्यही बाहिर निस्किएर आगो बलेको पुष्टि गरेका छन् ।
प्रतिक्रिया