पूर्ण बहादुर खड्का र नेपाली काङ्ग्रेसको १५औं महाधिवेशन

पूर्ण बहादुर खड्का र नेपाली काङ्ग्रेसको १५औं महाधिवेशन

नेपाली काङ्ग्रेस १५औं महाधिवेशन होमिसकेको छ। नेपाली कांग्रेसको विधानमा पार्टी सभापति दुई कार्यकालको मात्रै रहने व्यवस्था छ सोही कारण सभापति शेरबहादुर देउवा विश्राम लिँदैछन्। पार्टी सभापतिको लागि काङ्ग्रेसका पदाधिकारी देशभरि दौडधुप गरिरहेका छन् । नेपाली काङ्ग्रेसमा सभापति देउवापछिको बरियतामा रहेका उपसभापति पूर्णबहादुर खड्का आउँदो महाधिवेशनमा सभापतिमा लड्ने तयारी गरिरहेका छन्। कांग्रेसले २०७८ मंसिरमा १४ औं महाधिवेशन गरेकोले २०८२ मंसिरमा १५ औं महाधिवेशन गर्नुपर्ने विधानको व्यवस्था छ। उनले सभापतिमा लड्ने कुरा खुलेरै नभने पनि नजिकका मानिसहरूलाई पार्टीको सबै जिम्मेवारीमा भइसकेको र अब आफ्ना लागि बाँकी सभापति मात्र रहेको दाबी गरिरहेका छन्।

 

नेपाली कांग्रेसको संस्थापन पक्षमा सबैभन्दा बलियो सभापतिको उम्मेदवार पूर्णबहादुर खड्का हुन् यद्यपि शेरबहादुर देउवाले आउँदो महाधिवेशनमा कसलाई अगाडि सार्छन् भन्ने कुरा यकिन भइसकेको छैन। पार्टी सभापतिको दाहिने हातको रूपमा पूर्णबहादुर खड्का नै जिम्मेवारी सम्हालिरहेका छन् । सुर्खेत जिल्लाको सभापति, केन्द्रीय सदस्य, सहमहामन्त्री, महामन्त्री हुँदै उपसभापति समेत भइसकेका पूर्णबहादुर खड्का सभापतिको स्वभाविक दावेदार हुन् ।

विसं २०१२ साल फागुन १७ गते सुर्खेतको पाम्कामा बुवा प्रेमबहादुर खड्का र आमा मायादेवी खड्काको जेष्ठ सुपुत्रका रूपमा जन्मिएका खड्काले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्।

 

 

राजनीतिक यात्रा

विसं २०३१ सालदेखि सक्रिय राजनीतिमा हाम फालेका थिए। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय खड्काले नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य र केन्द्रीय उपाध्यक्ष को जिम्मेवारी सम्हालेका थिए। उनी २०३५ देखि २०३७ सम्म नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य, २०३६ देखि २०४१ सम्म देशको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघको सभापति थिए । उनी विसं २०३७ देखि ४२ सालसम्म नेपाल विद्यार्थी संघको केन्द्रीय उपसभापति भएका थिए।

विद्यार्थी राजनीतिबाट उनी विसं २०३७ सालमा पार्टी राजनीतिमा लागेका थिए । नेपाली कांग्रेस सुर्खेत जिल्ला कार्यसमिति सदस्य जिम्मेवारीमा उनी २०३७ सालदेखि २०४४ सालसम्म रहे।  विसं २०४० सालमा खड्का नेपाली कांग्रेस सुर्खेतको जिल्ला सभापति बने त्यतिबेला पञ्चायतलाई उपयोग गर्न वीरेन्द्रनगर नगर पञ्चायतको प्रधान पञ्चमा विसं २०४३ सालमा विजयी भएका थिए। उनलाई पञ्चायत अस्वीकार्य गरेको कारण सोही वर्ष प्रधान पञ्चबाट निलम्बन गरिएको थियो। शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस विभाजन गर्दै विसं २०५९ सालमा नेपाली कांग्रेस प्रजातान्त्रिक स्थापना गरेपछि खड्का २०६० देखि २०६४ सालसम्म पार्टीको केन्द्रीय कार्यसमिति सदस्यको भूमिकामा थिए। नेपाली कांग्रेस प्रजातान्त्रिक र नेपाली कांग्रेस एकीकरण भएपश्चात पार्टीको  १२ औं महाधिवेशनमा विजयी खड्का २०६४ सालदेखि २०७० सालसम्म केन्द्रीय कार्यसमितिको जिम्मेवारीमा रहे। 

विसं २०७० साल असोज ७ गते पार्टीले खड्कालाई सह महामन्त्रीको जिम्मेवारी दिएको थियो । संविधान निर्माणका क्रममा नेपाली काङ्ग्रेस र नेकपा एमालेको सहमति बेगर तत्कालीन पार्टी सभापति सुशील कोइरालाले सहमति भङ्ग गरेर प्रधानमन्त्रीको उम्मेदवार भएपछि पूर्णबहादुर खड्काले सह महामन्त्रीबाट राजीनामा दिएर देश दौडह गरेका थिए। काङ्ग्रेसका तत्कालीन नेता खुमबहादुर खड्काको समूहबाट उनी केन्द्रीय राजनीतिमा उदाएका हुन् । विसं २०७४ सालमा खुमबहादुर खड्काको निधन भएपछि खड्कालाई २०७५ सालमा पार्टीको महामन्त्रीमा मनोनित गरिएको थियो। विसं २०७८ सालमा भएको नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पूर्णार खड्का उपसभापतिमा निर्वाचित भएका थिए । उपसभापति खड्कालाई सभापति देउवाले विक्रम सम्वत् २०७९ सालमा पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा मनोनयन गरेका थिए।

 

जेल जीवन

विसं २०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन बहिष्कार अभियानमा सहभागी हुँदा खड्गलाई ३० दिन थुनामा राखिएको थियो। बहुदलीय व्यवस्थापनका लागि विसं २०४६ सालमा भएको ऐतिहासिक जनआन्दोलनको क्रममा खड्गले तीन महिना जेल जीवन व्यतित गरेका थिए। खड्गलाई विसं २०६० सालमा राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिइसकेपछि ४० दिन घरमा नजरबन्द गरिएको थियो ।

संसदीय यात्रा

प्रजातन्त्र पुनर्स्थापनापछि विसं २०४८ सालमा भएको पहिलो निर्वाचनमा सुर्खेतको - १ क्षेत्रबाट पूर्णबहादुर खड्का प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। विसं २०५१ सालको मध्यावधि निर्वाचनमा पनि खड्का सुर्खेत - १ बाट निर्वाचित भएका थिए। विसं २०५२ साल पौष २० गते देखि २०५५ साल ७ सम्म प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको सभापतिको जिम्मेवारीमा खड्का थिए। विसं २०५६ सालमा निर्वाचनमा पनि खड्का सुर्खेत - १ बाट विजयी हुन सफल भए।

विसं २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा समानुपातिक तर्फ निर्वाचित भएका थिए । उनी २०६४ सालको निर्वाचनमा  समानुपातिकमा निर्वाचित भएका थिए

विसं २०७० सालमा भएको संविधानसभा निर्वाचनमा खड्का प्रत्यक्षतर्फ नै उम्मेदवार भएर सुर्खेत - १ बाट विजयी हुन सफल भए । संविधान निर्माण भए पश्चात् २०७४ सालमा भएको पहिलो निर्वाचनमा पूर्णबहादुर खड्का बाम गठबन्धनका उम्मेदवार ध्रुव शाहीसँग पराजित भएका थिए। २०७९ सालमा भएको आम निर्वाचनमा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको साझा उम्मेदवारको रुपमा खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट भारी मतसहित विजयी भएका हुन् । उनी छ पटक सांसद भइसकेका छन्।

मन्त्रालयको जिम्मेवारीमा:

नेपाली काङ्ग्रेसभित्र कृष्णप्रसाद भट्टराईका अनुयायको रुपमा चिनिने खड्का हालसम्म छ पटक मन्त्री भइसकेका छन्। विक्रम २०५५ वैशाख ८ देखि भाद्र ९ सम्म युवा खेलकुद तथा संस्कृति र जनसङ्ख्या तथा वातावरण मन्त्रालय , विसं २०५५ पौष १० देखि २०५६ जेठ १६ सम्म वाणिज्य युवा खेलकुद तथा संस्कृति मन्त्री , २०५६ असार १६ देखि माघ सम्म गृह र सूचना तथा सञ्चार मन्त्री, २०५६ माघ ६ देखि चैत्र ७ सम्म गृहमन्त्री, २०५८ कार्तिक २ देखि २०५९ असोज २५ सम्म उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, २०६१ असार २१ देखि २०६१ माघ १९ सम्म गृहमन्त्री साथै २०७९ सालमा उनी उपप्रधान मन्त्री भएका थिए।

 

 देउवाको साथ महत्वपूर्ण:

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई अगाडि सारे भने उनका लागि सभापतिमा निकै सहज हुने देखिन्छ । सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई नै उत्तराधिकारीको रुपमा अगाडि सार्ने सम्भावना छ । देउवाको नेपाली कांग्रेसमा लडाई नै कोइराला परिवारसँग थियो। कोइरालासँगको टकरावका कारण देउवाले पार्टी विभाजन गरेर नेपाली कांग्रेस प्रजातान्त्रिक समेत गठन गरेका थिए। पार्टी विभाजनका खड्काले देउवालाई नै साथ दिएका थिए। पार्टी एकीकरण भएपश्चात पनि खड्का निरन्तर देउवा समूहसँगै छन्। खड्काले विगतमा देउवालाई पुर्‍याएको सहयोगको आधारमा संस्थापन समूहबाट सभापतिको निर्विकल्प उम्मेदवार हुनसक्ने सम्भावना जीवितै छ । पार्टी वरियतामा देउवापछि खड्काकै स्थान छ। उनीसँगै उपसभापतिमा निर्वाचित धनराज गुरुङभन्दा पार्टीभित्र र बाहिर खड्का नै हावी हुँदै आएका छन्।

 

महामन्त्रीद्वयको समर्थन :

नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा प्रभाव बढाउँदै गएका छन् । गगनकुमार थापा १४औं महाधिवेशनमा डाक्टर शेखर कोइराला समूहबाट निर्वाचन लडेका थिए भने विश्व प्रकाश शर्मा प्रकाशमान सिंह समूहबाट निर्वाचन लडेका थिए। दुई महामन्त्री लाई समूहभन्दा बाहिर गएर महाधिवेशन प्रतिनिधिले मतदान गरेका थिए। देउवाको समर्थनको सभापति उम्मेदवार नहुने अवस्था बन्यो भने खड्काका लागि दोस्रो विकल्प भनेको महामन्त्रीहरूको साथ हो। यद्यपि महामन्त्री गगनकुमार थापाले १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा समेत गरिसकेका छन्। अर्का महामन्त्री विश्व प्रकाश शर्मा भने एकपटक उपसभापति भन्ने मनसायमा छन् ।

 

सभापति र प्रधानमन्त्री पदमा भागबण्डा:

उपसभापति पूर्णबहादुर खड्काका लागि १५औं महाधिवेशनमा सभापति र प्रधानमन्त्री पदको भागबण्डा छैट टिम बनाउन सक्ने अवस्था रह्यो भने पनि सहज हुनसक्छ । गगनकुमार थापा शेरबहादुर देउवासँग संसदीय दलको नेतामा समेत भिडिसकेका छन्। गगनकुमार थापाको १५औं महाधिवेशनमा पार्टी सभापति लड्ने र जितिसकेपछि काङ्ग्रेसलाई ठूलो बनाएर प्रधानमन्त्री बन्ने उद्देश्य छ। उक्त कुराको सन्तुलन मिलाउन सके भने पूर्णबहादुर खड्का र गगन थापाले एकजना सभापति र अर्को प्रधानमन्त्री बन्ने गरी गर्न सहमति गर्न सक्छन्। त्यसो हुँदा अर्का महामन्त्री विश्व प्रकाश शर्मा, १४औं महाधिवेशनमा महामन्त्री हारेका प्रदिप पौडेल र  रमेश लेखक समेत एक ठाउँमा उभिने सम्भावना रहन्छ।

 

पार्टीभित्र कडा स्वभावको नेताको रूपमा आफूलाई स्थापित गर्न सफल खड्का कांग्रेस सत्तामा हुँदा विभिन्न शक्तिशाली मन्त्रालय सम्हाल्दाखेरि आर्थिक रूपमा विवादमा आएका छैनन्। उनी मिडियासँग दूरीमै रहन्छन् , विभिन्न विषयमा सन्तुलित धारणा राख्दै आएका छन्। पार्टीभित्र पनि समन्वयकारी नेताको छवि बनाएका छन्। कर्णाली प्रदेशबाट राजनीतिको उपल्लो तहमा पुगेका खड्का कांग्रेसको १५औं महाधिवेशनमा सभापति बनाउनु हामी सबैको धर्म हो।