राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष बन्न ६ जनाले दिए आवेदन

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष बन्न ६ जनाले दिए आवेदन

काठमाडौं - राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षका लागि ६ जनाको आवेदन परेको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिको दरखास्त आव्हान गरेको आज अन्तिम दिनसम्म अध्यक्ष पदका लागि ६ जनाको आवेदन परेको हो ।

सिफारिस समितिले प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि यहि जेठ ११ गते दरखास्त आव्हान गरेको थियो । जेठ २५ गतेसम्म अर्थात आइतबारसम्म १५ दिनको समय दिएर दरखास्त आह्वान गरिएकोमा आज कार्यालय समयसम्म उक्त संख्यामा आवेदन परेको हो ।
विज्ञ सदस्यमा भने ५ जनाको आवेदन परेको छ । ललितपुरको पुल्चोकमा प्राधिकरण स्थापना गरेको चार महिना बितिसक्दा समेत प्राधिकरणको सञ्चालक समितिले अझै पूर्णता पाउन सकेको छैन । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न बनेको प्राधिकरणको सञ्चालक समितिले अहिलेसम्म पूर्णता पाउन नसकेको हो ।


प्राधिकरणमा पाँच सदस्यीय सञ्चालक समिति हुनुपर्ने व्यवस्था छ । सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशले पाँच सदस्यीय सञ्चालक समिति हुनुपर्ने व्यवस्था गरेको छ ।

उक्त व्यवस्थाअनुसार सरकारले प्राधिकरणको स्थापना गर्दा अध्यक्षको जिम्मेवारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्व सचिव अर्जुनप्रसाद पोखरेललाई दिएको थियो । पोखरेल अनिवार्य अवकासमा गएपछि उनको ठाउँमा सोहि मन्त्रालयका सचिव केदारनाथ शर्मालाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ ।

हाल प्राधिकरणको सदस्यमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल र मन्त्रालयको सहकारी क्षेत्र हेर्ने सहसचिव मदन कोइराला छन् । उनीहरूले प्राधिकरणको कार्यालय उद्घाटनकै दिन शपथग्रहण गरेका थिए ।

त्यसबाहेक प्राधकिरणले अन्य दुई सदस्यको पद भने खाली रहेको छ । सहकारी विज्ञको तर्फबाट एक सदस्य र चार्टर्ड एकाउन्टेन्टको तर्फबाट अर्का एक सदस्य नियुक्त गर्न बाँकी रहेको छ ।

अध्यक्ष पदको लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरी नेपाल सरकारको राजपत्राङ्गित विशिष्ट श्रेणी वा सो सरहको पदमा कार्य गरेको वा अन्तर्राष्ट्रिय वा राष्ट्रियस्तरका बैंक वा वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीमा पन्ध्र वर्ष कार्य अनुभव भएको हुनुपर्नेछ ।

विज्ञ सदस्यको लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरी अन्तर्राष्ट्रिय वा राष्ट्रियस्तरका बैंक वा वित्तिय संस्था वा सहकारी संस्थामा रही कम्तीमा दश वर्ष कार्य अनुभव भएको हुनुपर्नेछ ।

प्राधिकरणको सञ्चालक समितिले पूर्णता नपाउँदा कार्यलय स्थापना गरेको लामो समय भइसक्दा समेत प्राधिकरणको कामले गति लिन सकेको छैन ।