अमेरिकाबाट डिपोर्ट हुनेहरु विमानस्थलबाटै गन्तव्य तर्फ जाने

अमेरिकाबाट डिपोर्ट हुनेहरु विमानस्थलबाटै गन्तव्य तर्फ जाने

काठमाडौं - अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली विमानस्थलबाटै आआफ्नो गन्तव्य जाने भएका छन् ।

अमेरिकी सरकारको नीतिअनुसार त्यहाँ अवैधानिक आप्रवासीका रुपमा बसोबास गर्दै रहेका ३७ नेपालीलाई चार्टड विमानद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको छ । उक्त विमानमा ५ महिलासहित अन्य पुरुष छन् ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद पंगेनीका अनुसार उनीहरूलाई विमानस्थलमै आवश्यक सोधपुछपछि आआफ्नो गन्तव्य जान दिइने भएको छ ।

‘हाम्रो देशमा कुनै अपराध गरेर उहाँहरु अमेरिका जानुभएको होइन’, उनले भने, ‘के, कसरी जानुभयो भन्ने कुरा बुझेर आआफ्नो ठाउँमा जान दिइन्छ ।’

यसअघि अमेरिकाले डिपोर्ट गरेका ९ नेपालीलाई विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान व्युरोले आफ्नो कार्यालयमा लगेर सोधपुछ गरेको थियो । यसपटक त्यस्तो नगरिने एसएसपी पंगेनीले बताए । यदि कुनै गिरोहले उनीहरूलाई अनुचित तवरले विदेश लगेको भए प्राप्त हुने जाहेरीका आधारमा अनुसन्धान गरिने उनले बताए ।