काँक्रेविहारमा अपाङ्गतामैत्री पैदलमार्ग

काँक्रेविहारमा अपाङ्गतामैत्री पैदलमार्ग

 सुर्खेत - कर्णाली प्रदेश सरकारले अपाङ्गतामैत्री पूर्वाधार निर्माणमा ध्यान दिएको छ । पूर्वाधार  निर्माण गर्दा अपाङ्गतामैत्री नभएको भन्दै सरकारको आलोचना हुने गरेको थियो ।

अपाङ्गता भएका नागरिकले सास्ती खेप्दै आएका थिए । कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थल काँव्रmेविहारमा अपाङ्गता भएका व्यक्तिले समेत सहज अवलोकन गर्ने गरी पूर्वाधार निर्माण गर्न लागिएको हो । आइतबार प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उक्त पैदलमार्गको अनुगमन गर्नुभएको छ । उहाँले तोकिएकै समयमा काम सम्पन्न गर्न र गुणस्तरमा समेत ध्यान दिन निर्देशन दिनुभयो । अहिले सिढी उक्लन नसक्दा अपाङ्गता भएका व्यक्ति टाढैबाट मन्दिर हेरेर फर्कने गरेका छन् । 

पैदलमार्ग निर्माणसँगै अपाङ्गता भएका व्यक्तिलाई समेत सहज हुने छ । अहिले पैदलमार्ग निर्माणको काम धमाधम भइरहेको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ । चालु आर्थिक वर्षमा ठेक्का सम्झौता गरेर चौतारासहितको पैदलमार्ग निर्माणको काम थालिएको कार्यालयका इन्जिनियर रविन महतले बताउनुभयो । उहाँका अनुसार २०८१ चैत १२ गते डिभिजन वन कार्यालय सुर्खेतले श्री कृष्ण निर्माण सेवा सुर्खेतसँग ठेक्का सम्झौता गरेको हो । २०८२ असार मसान्तसम्म निर्माणको काम सक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । अहिलेसम्म ४० प्रतिशत काम सकिएको छ । दुई वटा चौतारा र पाँच सय मिटर पैदलमार्ग निर्माणका लागि ४० लाख रुपियाँमा ठेक्का सम्झौता गरिएको इन्जिनियर महतले बताउनुभयो । 

पर्खाल निर्माण गरिँदै 

काँक्रेविहार  पर्खाल निर्माणको काम धमाधम भइरहेको छ । अहिलेसम्म पर्खाल निर्माणको ३० प्रतिशत काम सकिएको छ । यस्तै वित्तीय प्रगति २० प्रतिशत हासिल भएको छ । प्रदेश सरकारले काँव्रmेविहार कम्पाउन्डिङ (पर्खाल) आयोजनालाई प्राथमिकतामा राखेको छ । प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य स्थलका रूपमा रहेको काँक्रेविहारको पर्खाल निर्माणलाई पनि प्राथमिकताका साथ अघि बढाएको जनाइएको छ । २०७८ साल असोज १९ गते उच्च अदालत सुर्खेतले अन्तरिम आदेश जारी गर्दै पर्खाल निर्माणको काम अघि 

नबढाउन भनेको थियो । 

डिभिजन वन कार्यालय सुर्खेतले काँक्रेविहार वन क्षेत्रको साँध सीमामा पर्खाल नलगाई पाँच/सात मिटर जग्गा बाहिर छाडेर पर्खाल निर्माण गरेको आरोप लगाउँदै अधिवक्ता शेरबहादुर खत्रीले रिट निवेदन दायर गर्नुभएको थियो । त्यसयता पर्खाल निर्माणको काम अघि बढ्न सकेको थिएन । वन क्षेत्रलाई समेटेर काम अघि बढाउन उच्च अदालत सुर्खेतले आदेश दिएसँगै गत वर्षबाट काम अघि बढाइएको हो । 

२०७९ मङ्सिर २८ गते संरक्षित क्षेत्रको सबै वन क्षेत्र समेटेर पर्खाल निर्माण गर्न उच्च अदालत सुर्खेतले फैसला गरेको थियो । २०७९ कार्तिक १२ गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो । 

बिचमै अदालतले काम रोकेपछि निर्माणको काम अघि बढेको थिएन । हालसम्म निर्माण कम्पनीले दुई करोड रुपियाँ मात्र भुक्तानी लिएको छ । २०७८ वैशाख १२ गते ऐतिहासिक काँक्रेविहार संरक्षित वन क्षेत्रको सुरक्षार्थ ‘कम्पाउन्ड वाल’ (पर्खाल) निर्माण कार्य अघि बढाइएको थियो । डिभिजन वन कार्यालय सुर्खेतले महाविर, खिन्ती, हिराचन्द केएसके जोइन एडभेन्चर सुर्खेतसँग कामको ठेक्का सम्झौता गरेको थियो । 

११ करोड ८५ लाख ४२ हजार रुपियाँमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको हो । काँक्रेविहार संरक्षित वन क्षेत्रको सात किलोमिटर क्षेत्रमा ‘कम्पाउन्ड वाल’ निर्माण गरिने छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार पर्खाल निर्माण (कम्पाउन्डिङ) का लागि २१ करोड रुपियाँ लागत अनुमान छ । 

गत आर्थिक वर्षमा प्रदेश सरकारले एक करोड बजेट विनियोजन गरेको थियो । चालु आवमा पाँच करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । २०८२ असारसम्ममा काम सक्ने गरी सम्झौता गरिएकोमा अहिले म्याद थपका लागि निवेदन पेस भएको छ ।