बाल अधिकार समिति गठन गर्न सबै स्थानीय तहलाई पत्राचार

बाल अधिकार समिति गठन गर्न सबै स्थानीय तहलाई पत्राचार

काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहहरुलाई बाल अधिकार समिति गठन गर्न पत्राचार गरेको छ । स्थानीय तहमा बाल अधिकार समिति गठनको अभावमा  बाल कल्याण अधिकारीको नियुक्तिदेखि बालबालिका सम्बन्धि ऐनको कार्यान्वयनमा समस्या उत्पन्न भएको भन्दै मन्त्रालयले उक्त पत्राचार गरेको हो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आग्रहमा संघीय मामिलाले देशभरका स्थानीय तहमा यस्तो समिति गठन गरी बाल कल्याण अधिकारीको नियुक्ति भनेको छ । बालबालिका सम्वन्धि ऐन–२०७५ को दफा-६० को उपदफा-२ मा स्थानीय बाल अधिकार समिति र दफा-६१ मा स्थानीय तहमा बाल कल्याण अधिकारी रहने व्यवस्था रहेको छ ।

हालसम्म अधिकांश स्थानीय तहले यसको कार्यान्वयनमा चासो नदेखाएकाले संघीय मामिला मन्त्रालयमार्फत देशभरका सबै स्थानीय तहमा पत्राचार गरिएको बालबालिका मन्त्रालयले जानकारी दिएको छ ।