चिम्टेश्वरमा महाशिवरात्रीलाई केन्द्रित गरेर शिवको मूर्ति निर्माण गरिँदै

नुवाकोट - जिल्लाको बेलकाेटगढी नगरपालिका वडा २ मा रहेको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्र चिम्टेश्वरमा महाशिवरात्री केन्द्रित मूर्ति निर्माणको शुरूवात भएको छ । चिम्टेश्वर विकास समितिको आयोजनामा दश दिनसम्म चल्ने उक्त मूर्तिकला कार्यशालामा विभिन्न क्षेत्रका १० जना मूर्तिकारहरूको सहभागीता रहेको छ ।
महाशिवरात्री पर्वको तयारी स्वरूप चिम्टेश्वर विकास समितिको आयोजनामा दशजना मूर्तिकार तथा सोही टिमको सहकर्मीहरूसहित २० जानाको टिमले विगत तीन दिनदेखि तयारी गरी रहेको र दश दिनसम्म कार्यशाला सञ्चालन हुने बेल्कोटगढी नगरपालिका वडा–२ का वडा अध्यक्ष रामचन्द्र तिमल्सिनाले जानकारी दिए ।
उनले चिम्टेश्वर क्षेत्रमा धार्मिक तथा पर्यटकीय अपार सम्भावना हुँदाहुँदै पनि सडकको पहुँच अफ्ट्यारो, खानेपानी, शौचालय, बिजुली जस्ता आधारभूत आवश्यकताले गर्दा केही पूर्वाधार निर्माण हुँदा पनि व्यवस्थित हुन नसकेको अवस्थामा सानो प्रयासले खानेपानी, शौचालय, बिजुलीको व्यवस्था गरिएको बताए। त्यस्तै उनले मूर्तिकला तथा गीत सङ्गीतको माध्यमबाट उक्त क्षेत्रको प्रवर्द्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार गर्ने तयारी रहेको बताए।
अन्तराष्ट्रियस्तरबाट समेत मूर्तिकारको उपस्थिति रहेको उक्त कार्यशालामा चिम्टेश्वर विकास समितिले भौतिक सहकार्यमा शून्य रकमबाट काम थालनी गरिएको उनले वडाध्यक्ष तिमल्सिनाले बताए। उक्त कार्यशालामा विदुर नगरपालिकाले आफ्नो चिनो स्वरूप त्रिशूली नदीबाट दुईवटा ढुङ्गा उपलब्ध गराएको उनले बताए। उक्त पर्यटकीय क्षेत्रको विकास निर्माण तथा प्रचार प्रसारमा आवश्यकता अनुसार अझै केही सहयोग उपलब्ध गराउने विदुरनगरपालिका मेयर राजन लाल श्रेष्ठले बताए। उनले समितिका टिम लगायत केही स्थानीयहरूबाट सहयोग आउने क्रम जारी रहेको जानकारी दिए।
स्थानीय स्तरबाट श्रमदान तथा सहयोगको अपेक्षा गरिएको वडाध्यक्ष तिमल्सिनाले बताए । छोटो समयमा नै कार्यक्रमको थालनी गरिएकोले स्थानीय तथा सरोकारवालाहरू सँग थप परामर्श गर्न नसकेको वडाध्यक्ष रामचन्द्र तिमल्सिनाले बताए । आगामी शनिबार ललितकला क्याम्पसका प्राध्यापकहरु तथा वरिष्ठ मूर्तिकारको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम समेत हुन लागेको छ ।
बेलकोटगढी नगरपालिका लगायत नुवाकोट कै चिनारीको रूपमा चिम्टेश्वरलाई लिने गरिन्छ । धार्मिक, सांस्कृतिक एवं पर्यटकीय नगरीको रूपमा रहेको चिम्टेश्वर ऐतिहासिक रूपमा समेत परिचित रहेको छ ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा चिम्टेश्वगढीबाट नुवाकोट तथा कान्तिपुर नगरीको समेत विजय भएकोले नेपाल एकीकरणको मुख्य स्थलको रूपमा चिम्टेश्वरलाई लिने गरिन्छ ।
प्रतिक्रिया