लोप्रेमा लाटोकोसेरो तथा हुचिल उत्सव

लोप्रेमा लाटोकोसेरो तथा हुचिल उत्सव

म्याग्दी- म्याग्दीको सिमानामा रहेको पर्वतको जलजला गाउँपालिका–५ लोप्रेमा शुक्रबारदेखि ११औँ लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ । प्रकृतिका साथीहरू र प्राकृतिक सम्पदा संरक्षण’ संस्थाको संयुक्त आयोजनामा लोप्रेको मालिका आधारभूत विद्यालय परिसरमा उक्त उत्सव आयोजना गरिएको हो । 

ग्रामीण क्षेत्रमा लाटोकोसेरो तथा हुचिललगायत चरा, वन्यजन्तु संरक्षणको सन्देश दिने उद्देश्यले उत्सवको आयोजना गरिएको प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए । 

उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट समेत प्रदर्शनी गरिएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्राकृतिक विज्ञान सङ्ग्रहालयबाट लाटोकोसेरोको नमूना पनि प्रदर्शनीमा राखिएको छ । उत्सवमा वन्यजन्तु अनुसन्धानकर्मीको आफ्नो अनुसन्धानको बारेमा पोष्टर प्रस्तुत गर्ने कार्यक्रम छ । 

वातावरण क्षेत्रका विभिन्न सङ्घ संस्थाको जानकारीमूलक कक्ष छन् । उत्सव समापनका क्रममा चार जना अनुसन्धान र संरक्षणकर्मीलाई जनही रु २५ हजार नगदसहित ताम्रपत्र तथा दोसल्लाबाट सम्मान गर्ने कार्यक्रम छ । स्थानीय सांस्कृतिक कार्यक्रम तथा खेलहो माध्यमबाट आन्तरिक पर्यापर्यटन प्रवद्र्धन गर्ने उत्सवको उद्देश्य छ ।