सहकारी ठगीको आरोपमा रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

काठमाडौं - सहकारी ठगीको आरोपमा रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ का वडाध्यक्ष कैलाशकुमार दर्लामीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । दर्लामी नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हो ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिका उपाध्यक्ष दर्लामीलाई बिहीबार प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । सहकारी ठगीको आरोपमा पक्राउ पुर्जी जारी भएपछि दर्लामी गाउँ छाडेर काठमाडौं गई लुकीछिपी बस्दै आउनुभएको थियो ।
काठमाडौंमा लुकेर बस्नुभएका दर्लामी सामाजिक सञ्जालमा भने सक्रिय हुनुहुन्थ्यो । उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो विरुद्ध झुटो प्रचार गरिएको बताउँदै आउनुभएको थियो । आफूले उपाध्यक्ष पदबाट राजीनामा दिइसकेकोले आफ्नो सो सहकारीसँग कुनै सम्बन्ध नरहेको बताउँदै आउनुभएको थियो ।
काठमाडौंबाट पक्राउ गरिएका दर्लामीलाई पोखरा लगिँदै छ । उहाँलाई आज राति नै पोखरा पुर्याइने कास्की प्रहरीले जनाएको छ । दर्लामीलाई कास्की प्रहरीको अनुरोधमा काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।
सो सहकारीको रकम हिनामिना गरी ठगी गरेको आरोपमा १९ जना विरुद्ध प्रहरीले पक्राउपूर्जी जारी गरेको थियो । उनीहरू मध्ये संस्थाका कोषाध्यक्ष कुमार रम्तेल यस अघि नै पक्राउ परिसकेका छन् ।
प्रहरीले सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राईसहित वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १७ जनालाई अझै पक्राउ गर्न सकेको छैन । प्रहरीले राईसहित पूर्वअध्यक्ष भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङविरुद्ध इन्टरपोलमा ‘डिफ्युजन नोटिस’ जारी गर्न गत पुस ६ गते नै पत्राचार गरिसकेको छ । सो नोट जारी भएपछि इन्टरपोलका सदस्य जुनसुकै देशमा रहे पनि उनीहरूलाई पक्राउ गर्न सकिने छ ।
सो सहकारीका १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९९ हिनामिना भएको प्रारम्भिक अध्याय नबाट देखिएको छ । सो रकम हिनामिनामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने समेतको संलग्नता देखिएको छ ।
प्रतिक्रिया