ललितपुरका सीडीओ र एसएसपी केन्द्रमा तानिए, डीएसपीसहित तीन जना निलम्बित

ज्यान गुमाएका व्यक्तिको परिवारलाई १०- १० लाख रुपैयाँ दिने भएको छ ।

ललितपुरका सीडीओ र एसएसपी केन्द्रमा तानिए, डीएसपीसहित तीन जना निलम्बित

काठमाडौं- सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी सिद्धिविक्रम शाहको जिम्मेवारी खोसेर हेडक्वार्टरमा तान्ने निर्णय गरेको छ ।

शुक्रबार ललितपुरका बालकुमारीमा भएको झडपमा सुरक्षा कमजोरी गरेको भन्दै सीडीओ पण्डितलाई गृह मन्त्रालय र एसएसपी शाहलाई प्रहरी प्रधान कार्यालय तान्ने निर्णय गरिएको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार उनीहरुलाई निलम्बन गरिएको नभएर नैतिक जिम्मेवारी ननिभाएकोमा हेडक्वार्टर तानिएको हो ।

यसैबीच सरकारले फिल्ड कमाण्डमा खटिएका ललितपुरका डीएसपी उमेश लम्साल ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदी र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाका अंगरक्षक बोधराज दनुवारलाई निलम्बन गरेको छ ।

 

१० लाख राहत 

सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई १०- १० लाख रुपैयाँ दिने भएको छ । 

मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।प्रदर्शनमा मृत्यु हुनेमा डोटीका २२ वर्षे वीरेन्द्र साह र दैलेखका २३ वर्षे सुजन रावत छन् ।